२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

पूर्वी रोल्पाको ‘लाइफलाइन’ मानिएको सुलिचौर–थबाङ सडकका लागि ११ करोड ७८ लाख बजेट विनियोजन

बिहिवार , श्रावण २९, २०७७

प्रदेश ५ । पूर्वी रोल्पाको ‘लाइफलाइन’ मानिएको सुलिचौर–थबाङ सडकका लागि ११ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेटमा यो सडकलाई विशेष प्राथमिकतामा राख्दै उल्लेखीय रकम छुट्याएको छ । यो रकम प्रदेश सरकारले जिल्लाकै कुनै निश्चित आयोजनामा छुट्याएको रकममध्येमा सबै भन्दा बढी हो । गतवर्ष पनि यो सडकका लागि ७ करोड बजेट विनियोजन भएको थियो । तर,कारोना महामारीले निर्माण कार्य प्रभावित भयो । कोरोना कहरकै बीचमा त्यस क्षेत्रका स्थानीय जनप्रतिनिधिले आउँदो बजेटमा सुलिचौर थबाङ खण्डलाई प्राथमिकतामा राख्न माग गर्दै आएका थिए । प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सीले यसमा थप बजेटको व्यबस्था गर्ने तर घट्न नदिने आश्वासन दिनुभएको थियो । मन्त्री के.सी यस क्षेत्रको प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुनुहुन्छ । बजेट विनियोजन भएपछि स्थानीय जनप्रतिनिधिले आगामी दिनमा हुने निर्माण कार्यमा निरीक्षण र अनुगमन गरी सहयोग गर्ने बताएका छन् भने निर्माण व्यवसायीलाई द्रुत गतिमा काम अगाडी बढाउन ध्यनाकर्षण गराएका छन् । २०७४ सालमा नेपाली सेनाले सुलिचौर थबाङ सडक खण्डमा पर्ने सिरक्याङ भीर फोडेपछि त्यस क्षेत्रमा उत्पन्न गतिरोध अन्त्य भएको थियो । त्यसपश्चात नै यस भेगमा गाडी ओहरदोहर गर्न सुरु गरेका थिए । स्थानीयका अनुसार सडकको स्तरोन्नती अबको एजेण्डा हुन् । सडकको उपयोग आवतजावतका लागि मात्र सीमित नगरी कृषि,उत्पादन,पर्यटन र रोजगारीबाट लाभान्वित हुने उनीहरुको धारणा छ ।