निमुखा जनतालाई सुनौलो सपना पस्केर ,
जमिनबाट उठेर सत्तामा पुगेको धेरै दिन भएको छैन ।
देबत्वकरणको शिखर चढेको पनि उतिसारो दिन बितेको छैन।
झुप्रे र झुप्रोको गीत गाएर महल छिरेको डोब मेटिएकै छैन,
तर जनतालाई मुर्ख बनाएको सेरोफेरो र फेहरिस्त लामै भएको छ ।
घोप्टेभीरमाथि उड्दै गरेको डबल इन्जिने जेटलाई दशा लागे जस्तो छ ।
छोटो उडान भर्ने वित्तिक्कै जेटको दिशा सूचकले काम गर्न छाडेको छ,
कताकता उल्कापात वर्षने संकेत गर्दैछ ।
डबल इन्जिनका पाईलटलाई चनौति थपिँदैछ,
यो कचिँगलले ठूलै अनिष्ठ आउँने संकेत गदैछ ।
आसाको पुलिन्दा रित्तो भएको जनताले थाहा पाउँन थालेका छन्,
केक भोग चढाए पनि मार्सीको प्रचार गरे पनि जनताले दुत्कारेकै छन् ।
एक जुट पार्छौ भन्दा पनि धारे हात लाएकै छन्,
फुटको हरियो संकेत दिएपनि हुँदैन भनेकै छन् ।
पुस्तान्तरणको माखे साँङलो थापेपनि उस्तै हुन् भनि
नयाँ जोगीको काम छैन भनि अचाक्ली घिन मान्दै छन् ।
अचेल झन्झन् अनिष्टको पारो चढ्दैछ,
नेताका नाम सुन्दा घृणाको बान्ता गरिहेका छन् ।
मनमनै सराप्तै फिस्स खिसीको हाँसो हाँस्तै भेट्ता पनि नक्कली स्वागत गर्नथालेका छन् ।
हुँदाहुँदा अब त समृद्ध नेपाल, सुखी नेपालीको नारालाई,
उल्लु बनाउने खेल भन्न थालेका छन्
समाजवादको बाटो हिंडेर साम्राज्यवादी र विस्तारवादीलाई बाउ मान्न थालेपछि,
समाजवादोन्मुखको खोल ओढेर नवउदारबादमा चुर्लुम्म डुबुल्की मारेपछि
जनताले उनीहरुलाई पूरै खारेज गर्ने इच्छा जाहेर गर्न थालेका छन ।
यद्यपि. उकुसमुकुस जीवितै छ
अझै केही पल बाँकी छ
जेटलाई छिटो मर्मत गर,
नत्र घोप्टेभीर अघि छ ।

♦ जय कार्की
मंसिर १८, २०७७
जोरपाटी
मिल्दोजुल्दो तस्बिरसहित शीर्षकमात्र परिवर्तन गरेको छु । धन्यवाद