कवि नाजिम हिक्मेत रान र प्रेमिका भेरा
मे १९५९ को कुरा हो एउटा नोटमा टर्कीका महान प्रगतिवादी कवि नाजिम हिक्मेत रानले आफ्नो प्रेमिका भेरालाई यसरी संझेका थिए ।
नाजिमले जेल जीवनमा राती ९ बजेको समयमा जीवनसंगिनीको लागि समय छुट्टयाएर कविता लेख्थे र पठाउँथे रे । अनि जेल भित्रको जीवन र जीवन संगिनीसितको जीवनलाई सँधै जीवन्त राख्थे । नाजीम हिक्मेत रान (१५ जनवरी १९०२–३ जुन १९६३) टर्कीको प्रख्यात कवि, नाटककार, उपन्यासकार, पटकथा लेखक, निर्देशक र संस्मरणकारकारुपमा परिचित थिए ।
उनलाई एक रोमान्टिक कम्युनिष्ट र रोमान्टिक क्रान्तिकारीको रूपमा वर्णन गरिएको छ । उनी बारम्बार आफ्नो राजनीतिक आस्थाका कारण गिरफ्तारीमा परिरहन्थे साथै यी कविले आफ्नो वयस्क जीवन जेल वा निर्वासनमा बिताएका थिए । उनका कविताहरु पचासभन्दा बढी भाषाहरुमा अनुवाद गरिएको छ ।
नाजिम हिक्मेत रानको जन्म सालोनिका (अहिलेकोे थेसालोनिकी) ग्रीसमा भएको थियो । उनका बुबाले ओटोमन साम्राज्यको लागि विदेश सेवामा काम गरेका थिए । उनकी आमा कलाकार थिइन् र हजुरबुबा कवि थिए । हिक्मेत पहिलो विश्वयुद्धपछि मस्को विश्वविद्यालयमा अध्ययन गर्न सोभियत संघ गएका थिए ।
सोभियत संघमा रहँदा, माक्र्सवादी बनेका थिए, यो राजनीतिक सम्बद्धता उनको जीवनभर राजनीतिक र व्यक्तिगत रूपमा महत्वपूर्ण रहिरह्यो।
टर्कीका बिश्वविख्यात प्रगतिबादी कवि नाजिम हिक्मेत रानको कविता
हत्तेरिका तिमीलाई माया गर्नु
कस्तो अचम्मको कुरा!
तिमी मेरो माया हौ,
तिमी मेरी प्रियशी हौ,
तिमी मेरो आत्मीय हौ,
तिमी मेरो आमा जत्तिक्कै हौ ।
प्रिय,
मेरो एक मात्र तिमी,
तिमीसित माया बस्नु अघि
संसारलाई कसरी माया गर्ने
मलाई थाहा थिएन।
यदि यो शहर सुन्दर छ भने,
यो तिम्रो कारणले हो
यदि यो स्याउ मीठो छ भने
यो तिम्रो कारणले हो
यदि यो व्यक्ति फुर्तिलो भएको छ
भने यो तिम्रो कारणले हो...