✍️ रामचन्द्र कार्की
आज नेपाली समाज गहिरो संकटमा छ। यही संकटको फाइदा उठाउँदै एजेन्डाविहीन ‘नयाँ शक्ति’ हरू भ्रम फैलाइरहेका छन्। दलाल पुँजीवाद मौलाएको छ, साम्राज्यवादी हस्तक्षेप बढ्दो छ, किसान भूमिहीन बन्दैछन्, श्रमिकको श्रम लुटिंदैछ, र युवा पुस्ता बाध्य भएर विदेश पलायन भइरहेको छ। यो संकट आकस्मिक होइन-यो प्रतिक्रियावादी राज्यसत्ता र पूँजीवादी शोषण व्यवस्थाको परिणाम हो।
यही संकटको जडमा कांग्रेस र एमालेहरूको चरम भ्रष्टाचार, बेथिति र राज्य दोहनले दुई तिहाइको शक्तिशाली सरकार हुँदाहुँदै पनि उनीहरूले जनताको जीवनमा कुनै सकारात्मक परिवर्तन ल्याउन सकेनन्। उल्टै दलाल पूँजीवादलाई संस्थागत गर्दै भ्रष्टाचारलाई संरक्षण गरे। यही कारण गत भाद्र २३–२४ को जेन्जी आन्दोलनले त्यो सरकारलाई जनआक्रोशका साथ लखेट्यो। आज जनताको विश्वास, चाहना र भरोसा ती दलहरूसँग छैन-यो यथार्थ सडकदेखि सामाजिक सञ्जालसम्म स्पष्ट देखिन्छ।
यही ऐतिहासिक घडीमा केही तथाकथित “नयाँ शक्ति” हरू, विशेषगरी रास्वपा, ठूलो स्वरमा देखापरेका छन्। उनीहरूको मुख्य राजनीति पुराना दललाई गाली गर्नु र भावनात्मक उत्तेजना फैलाउनुमा सीमित छ। तर प्रश्न स्पष्ट छ-के गाली गरेर वर्गशोषण अन्त्य हुन्छ ? के फेसबुक भाषणले साम्राज्यवाद परास्त हुन्छ ?
इतिहास साक्षी छ- नेपालमा भएको आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनको लागि संगठित क्रान्तिकारी संघर्षको अगुवाइ गर्दै आएको पार्टी हो नेपाली कम्युनिस्ट पार्टी।
नेपाली कम्युनिस्ट पार्टी सहिदको रगतले सिँचिएको पार्टी हो। यो पार्टी किसान आन्दोलन, मजदुर संघर्ष, जनयुद्ध र जनआन्दोलनको भट्टीमा खारिएको शक्ति हो। गणतन्त्रको स्थापना, सामन्ती अवशेषको अन्त्य र जनताको राजनीतिक चेतनाको उभार-यी सबै उपलब्धि कम्युनिस्ट आन्दोलनकै देन हुन्।
रास्वपा जस्ता शक्तिहरू व्यक्तिवादी राजनीति बोकेर आएका छन्। उनीहरूसँग न वैज्ञानिक समाजवादको दृष्टिकोण छ, न उत्पादन सम्बन्ध परिवर्तन गर्ने कार्यक्रम। उनीहरूको भनिएको “परिवर्तन” पूँजीवादी व्यवस्थाभित्रै सीमित छ, जसले अन्ततः दलाल पुँजीवादलाई अझ मजबुत बनाउनेछ।
त्यसैले आज प्रश्न व्यक्तिको होइन, वर्गको हो। प्रश्न लोकप्रियताको होइन, उत्पादन सम्बन्धको हो। नेपाली कम्युनिस्ट पार्टी आवश्यक छ किनकि यसले समस्या देखाएर मात्र होइन, समाधानको वैज्ञानिक बाटो देखाउँछ-उत्पादनका साधनमाथि जनताको स्वामित्व, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र, भूमिसुधार, श्रमिक अधिकार, निःशुल्क शिक्षा–स्वास्थ्य र साम्राज्यवादविरोधी राष्ट्रिय एकताको स्पष्ट खाका यसकै एजेन्डा हुन्। यो सुधार होइन-व्यवस्था परिवर्तनको राजनीति हो।
आज आवश्यकता छ वर्गीय चेतनाको। आवश्यकता छ क्रान्तिकारी संगठनको। आवश्यकता छ प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध जनताको मोर्चाबन्दीको। यो निर्वाचन सामान्य प्रतिस्पर्धा होइन-यो शोषित र शोषकबीचको वैचारिक संघर्ष हो। यहाँ तटस्थ बस्ने ठाउँ छैन। या त हामी दलाल पूँजीवादको पक्षमा उभिन्छौं, या श्रमिक–किसानको राज्य निर्माणको यात्रामा लाग्छौं।
आउनुस्, भ्रमको राजनीतिलाई अस्वीकार गरौं। व्यक्तिवादलाई परास्त गरौं। क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई बलियो बनाऔँ। सहिदको सपना अधुरो नछोडौं।
अब निर्णय जनताकै हातमा छ-भ्रम रोज्ने कि संघर्ष ? व्यक्तिवाद रोज्ने कि समाजवाद ? इतिहास साक्षी रहोस्, आमूल परिवर्तनको यात्रामा नेपाली कम्युनिस्ट पार्टी नै जनताको भरोसाको शक्ति हो।
आमूल परिवर्तनका लागि-नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह पाँचकुने तारामा मतदान गरौं।