सन्दर्भ १३७ औँ मे दिवस: ट्रेड युनियन आन्दोलन र यसको सान्दर्भिकता – विश्वनाथ प्याकुरेल,नेकपा केन्द्रीय सदस्य
२०८२ भाद्र २३–२४ मा भएको जेन्जी विद्रोह तत्पश्चात सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र त्यसको परिणामपछि बनेको नयाँ सरकार तथा यसका भूमिका बारेमा एक खालको आशा देखिन्छ, तर अर्को तर्फ संश्रयहरु पनि त्यतिकै देखिन्छन् ।
मुलुकमा झाँगिदै गरेको भ्रष्टाचारको अन्त्य, तथा सुशासनको पक्षमा प्रकट भएको प्रतिबद्धता आफैमा सह्राहनीय पक्ष हो तर यतिखेर झन्डै ८० वर्ष देखि मुलुकको लोकतन्त्र तथा मानव अधिकारको बहालीका निम्ति निरन्तर संघर्ष गर्दै आएका विद्यार्थी संगठनहरू तथा ट्रेड युनियन संगठनहरूमाथि प्रतिबन्ध लगाउने खालका सरकारका गतिविधिप्रति भने सर्वत्र आलोचना हुने स्थिति बनेको छ ।

लोकतान्त्रिक पद्धतिभित्र विभिन्न संघ संगठनहरूले गतिविधि गर्नु, संगठित बन्नु, आफ्ना अधिकारका निम्ति आवाज उठाउनु, सरकारलाई खबरदारी गर्नु स्वभाविक मानिन्छ । कहीँ कतै त्रुटि भएका छन् भने त्यसलाई नियमन गर्न सकिन्छ तर नेपालको संविधानको मूल मर्म र भावना, अन्तर्राष्ट्रिय अनुवन्ध तथा मानवअधिकारको खिलाफमा गरिने कार्यले लोकतन्त्र बलियो बन्न सक्दैन । यो त लोकतन्त्रलाई कमजोर बनाउने निरंकुश प्रवृत्ति मात्र हो ।
बेलायतको औद्योगिक क्रान्तिसँगै पुँजीपति वर्गको जन्म भएसँगै मजदुर वर्गको जन्म भएको इतिहास छ । १८ औँ शताब्दीको उत्तरार्ध र १९ औँ शताब्दीको सुरुमा ठूलाठूला कारखाना र नयाँ नयाँ यन्त्रहरूको आविष्कार भयो । फलतः उत्पादनका साधनहरू केन्द्रीकरण भए भने स–साना उद्योगहरू बन्द हुने अवस्थामा पुगे र मजदुरहरूको रोजीरोटी खोसिने अवस्था बन्यो । जसको कारण मजदुरहरू संगठित बन्दै विद्रोहमा उत्रिन थाले । विश्वमा लुडाइट आन्दोलन (मेसिन फोड आन्दोलन–बेलायत), लियोन सहर विद्रोह (फ्रान्स), चार्टीस्ट आन्दोलन (वेलायत), पेरिस कम्युन (फ्रान्स), सिकागो सहर विद्रोह (अमेरिका) मजदुर विद्रोहका ठूला ठूला उदाहरण हुन् ।
मजदुर वर्गले सन् १८४८ को जुनमा आफ्ना मागहरू अगाडि सार्दै फ्रान्सको पेरिस सहरमा विद्रोहको आह्वान गरे । सोही क्रममा सन् १८७१ मार्च १८ का दिन मजदुरहरूले पेरिस सहर कब्जा गरे । यसैलाई “पेरिस कम्युन” भनियो । यो घटनालाई माक्र्सवादी अवधारणाको पहिलो प्रयोग मानिन्छ ।
मे दिवसः सन् १८४८ मा कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गर्दै “विश्वका मजदुरहरू एक होऔँ” भनि गरेको आह्वान बमोजिम मजदुरहरूले पेरिस कब्जा गरेका थिए । त्यो पेरिस कम्युन लामो समय टिक्न सकेन तर मजदुर आन्दोलनको प्रभाव भने विश्वभर फैलियो ।
सन् १८८६ को मे १ देखि ४ मा अमेरिकाको सिकागो सहरका मजदुरहरूले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखी विद्रोह गरे । उक्त विद्रोहलाई अमेरिकी सरकारले चरम दमन गर्यो । सयौँ मजदुरको हत्या भयो । तीन वर्षपछि सन् १८८९ जुलाई २० मा फ्रेडरीक एंगेल्सको अगुवाइमा पहिलो पटक अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनको आयोजना गरियो । उक्त सम्मेलनले तीन वर्षअघि सरकारी दमनमा हत्या गरिएका श्रमिकहरूको स्मरणमा मे–१ लाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउने घोषणा ग¥यो । सोही अनुरूप सन् १८८९ यता हालसम्म मे–१ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) का रुपमा मनाउने गरिएको छ । यसवर्ष पनि श्रमिकहरूले १३७ औँ मे दिवस विभिन्न कार्यक्रम सहित मनाइरहेका छन् ।
यसरी १३७ औँ मे दिवस मनाइरहँदा संगठित हुने नैसर्गिक अधिकार माथिको हमला नेपालको संविधानको खिलाप मात्रै होइन, ILO अभिसन्धी, संयुक्त राष्ट्र संघको मानवअधिकार घोषणापत्र समेतको खिलापमा छ ।
यसका विरुद्धमा श्रमिक वर्गको वलिदानीपूर्ण संघर्षको इतिहाँसको रक्षाकालागि सम्पूर्ण श्रमिहरु एक भई सशक्त आवाज उठाउनु आवश्यक छ ।
१३७ औँ मे दिवसका अवसरमा सवैमा हार्दिक शुभकामना !