विसं. २०४८ माघमा भएको अखिल नेपाल ट्रेड युनियन महासंघको एकता राष्ट्रिय सम्मेलनको आसपासबाट कमरेड निर्मल लामा मजदुर संगठनको फ्र्याक्सन इन्चार्ज बनेर आउनुभयो । त्यस अघि कमरेड नरबहादुर कर्माचार्य फ्र्याक्सन इन्चार्ज हुनुहुन्थ्यो । त्यतिखेर ट्रेड युनियनलाई पेशागत संगठनहरुको महासंघको रुपमा लग्ने कि एकात्मक संगठनको रुपमा राख्ने भन्ने बहस थियो, हाम्रोमा । त्यो बहसमा एउटा फ्र्याक्सन इन्चार्जको रुपमा उहाँको संझाउने तरिका असाध्यै स्पष्ट, सरल र नरम थियो । केही अघि संपन्न नेकपा (एकता केन्द्र)को एकता महाधिवेशनले दीर्घकालीन जनयुध्दको लाइन पास गरेको भए पनि उहाँ त्यसको विरुध्दमै हुनुहुन्थ्यो । पार्टी केन्द्रमा भएका छलफलहरु मातहत कमीटीहरुमा आइरहेकै थिए । कतिपय बाहिर पनि जान्थे ।
कुमार दाहाल अन्टुफ पूर्ब अध्यक्ष तथा तत्कालीन माओबादी केन्द्रका केन्द्रीय सदस्य
मजदुरको फ्र्याक्सन कमिटीमा भएका हामीहरु धेरैजसो उहाँको लाइनको विपक्षमै थियौं । तर पनि पार्टी केन्द्रमा भएको बहस उहाँले जस्ताको तस्तै हामीसँग राख्नुहुन्थ्यो । प्रचण्डले यस्तो भने, कीरणले यस्तो कुरा राखे, मैले यसो भनेंमात्र पनि होइन, अबचाहीं म यस्तो कुरा राख्छुसम्म पनि भन्नुहुन्थ्यो । त्यो सबमा केवल जानकारी दिने मनसाय बुझिन्थ्यो । यिनले मलाई सहयोग गरिदिउन् भन्ने भाव पनि कहिल्यै राख्नुभएन र त्यस्तो अवस्था पनि थिएन । अरु नेताहरु (उहाँको पक्षमा लागेका र नलागेका दुुबैथरी) पटक्कै त्यस्ता थिएनन् । आफूलाई रहस्यमा राख्ने, खुलेर व्यक्त नहुने,आफ्नै सहयोध्दाहरुमा पनि अड्कलेर कुरा राख्ने प्रबृत्ति लामा बाहेक प्राय सबै जसोमा थियो । यो शैलीमा आफूलाई रहस्यमय नेता बनाउने नियत होला तर मलाईचाहीं कता कता षड्यन्त्रका तानाबाना बुन्ने षड्यन्त्रकारी जस्तो लाग्थ्यो, अहिले पनि त्यस्तै लाग्छ ।
उहाँका बारे व्यक्तिगत टिका टिप्पणी पनि धेरै हुन्थे । भट्टीमा पसेर रक्सी पिउने कुराको आलोचना हुन्थ्यो । उहाँ पिउनुहुन्थ्यो र अरु पनि पिउँथे तर अरु लुकाउँथे भने लामाले त्यसलाई कहिल्यै लुकाउनुभएन । कतिपय बेला उहाँ भन्नुहुन्थ्यो म पिउँछु, साथीहरुलाई लाग्छ ।
निर्मल लामा नेपाली क्रान्ति जनयुध्दको बाटोबाट होइन जनविद्रोहको बाटोबाटमात्रै संभव छ भन्ने मान्यतामा अडिग रहनु भयो । त्यसैमा प्रचण्डहरुसंगको एकता टुट्यो । लामासँग अलग भइसके पछि प्रचण्डको नेतृत्वमा भएको दशवर्षे जनयुध्द केही उपलब्धीहरु सहित संझौतामा टुंग्याउने काम भयो । त्यही जनयुध्दलाई अझै अगाडि लग्न सकिन्थ्यो या त्यसो गर्न सकिन्नथ्यो र बीचमा एउटा स्टेप चाहिन्थ्यो भन्ने बहश जनयुध्दका पक्षधरहरुमै भयो र अहिलेसम्मै छ । यसरी हेर्दा निर्मल लामाले लिनुभएको लाइनबारेको बहश अझै सकिएजस्तो लाग्दैन ।
निर्मल लामा आधारभूत मजदुर परिवारमा जन्मनु र हुर्कनुभयो । मजदुर परिवारको एकजना सदस्यका लागि हुनेखाने र फुुर्सदिलाहरुले कब्जा गरेको नेपालको लोकतान्त्रिक र वाम आन्दोलनमा आफ्नो स्थान बनाउनु र आफूलाई नेतृत्व तहमा स्थापित गर्नु चानचुने संघर्षबाट संभव छैन । यसर्थ निर्मल लामाले जीवनमा जे जति संघर्ष गर्नु भो त्यो सदैव श्रमजीवी वर्गको प्रेरणाको श्रोतको रुपमा रहिरहने छ । नाम जस्तै निर्मल, सरलताका पुञ्ज, नेपाली श्रमजीवी वर्गका नेता कमरेड निर्मल लामाको स्मृति दिवशका संदर्भमा हार्दिक श्रध्दाञ्जली !