३० पौष २०८२ काठमाडौँ | नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र शपथ ग्रहणकै दिन ठूलो संगठनात्मक पहिरो गएको छ। पार्टीले २४९९ सदस्यीय केन्द्रीय समितिको घोषणा गरे पनि करिब १८०० सदस्यहरूलाई शपथबाट वञ्चित गरिएपछि पार्टीभित्र 'निषेधको राजनीति' सुरु भएको आरोप लागेको छ।
किन चुलियो असन्तोष?
मंगलबार पेरिसडाँडामा आयोजित शपथ ग्रहणमा केवल सिमित नेताहरूलाई मात्र समेटिएपछि भुइँतहका कार्यकर्ताहरूले पार्टीलाई 'एलिट क्लब' को संज्ञा दिएका छन्। असन्तुष्टिका मुख्य कारणहरू:
१८०० सदस्य अन्यौलमा: पूर्व माओवादी र अन्य घटकबाट आएका करिब १८०० प्रस्तावित सदस्यहरूलाई शपथ नखुवाइ 'होल्ड' मा राखिएको छ। यसले पार्टी एकताको मर्ममाथि प्रहार गरेको कार्यकर्ताहरूको दाबी छ।
आधारभूत वर्गको निषेध: पार्टीको मेरुदण्ड मानिने मजदुर, किसान, जनजाति र दलित समुदायको प्रतिनिधित्वलाई योजनाबद्ध रूपमा पाखा लगाइएको छ।
केन्द्रीय कमिटिमा 'सिन्डिकेट': केन्द्रीय कमिटीहरूमा पुराना क्रान्तिकारी र पूर्व माओवादीका सक्रिय सदस्यहरूलाई पूर्णतः निषेध गरिएको छ। नेतृत्वमा केवल पहुँचवाला र आफन्तहरूको वर्चस्व देखिएको छ।
पार्टी कि क्लब?: "कम्युनिष्ट पार्टी सर्वहाराको हुनुपर्नेमा यो केवल नेताहरूको स्वार्थ व्यवस्थापन गर्ने 'क्लब' मा परिणत भयो," एक असन्तुष्ट दलित नेताले आक्रोश पोखे।
"दलित, जनजाति र मजदुरको रगत-पसिनाले ठडिएको पार्टीमा आज तिनै वर्गलाई निषेध गरेर १८०० नेतालाई अपमानित गरिनु दुर्भाग्यपूर्ण छ।"
अबको स्थिति
शपथ लिन बाँकी रहेका १८०० सदस्यहरूले नेतृत्वको यो कदमविरुद्ध संगठित हुने चेतावनी दिएका छन्। यसले भर्खरै एकीकृत भएको पार्टीलाई फेरि फुट र विभाजनको बाटोमा लैजान सक्ने देखिएको छ।