ए हे हे ...
सप्तकोशीको छेउ किनारा
मुटु काम्ने सिरेटो चल्यो सरर
बचाई देउ जिउ ज्यान नेपाल सरकार ।
तराई क्षेत्रमा चल्यो ज्यानमारा शीत लहर
गरिब दुखिमाथी बर्सियो कठाँग्रिदो कहर
पेटभरी तातो खाने आङभरी न्यानो लाउने
तातोमा बस्ने कहिले होला पूरा दुखिको रहर ।
दिनभरी यता र उता न्यानो घाम खोज्दै बिताएँ
पराले डस्नामाथी थोत्रो च्यादर ओढी रात बिताएँ,
यता फर्कें उता फर्कें चिसो रात यसरी नै कटाएँ
झिस्मिसेको शीत लहरको थप्पडलाई सकेन थेग्न जिर्ण ज्यानले
खोज्न थालेँ ओखती शिथिल परेको ज्यान तातो पार्ने
शीत लहरीसित पौठे जोरी खेल्दै झिस्मिसे मै जुरुक्क उठें
सासै नफेरी ठर्रा पसल पुगेँ एक गिलास शिरक़ क़िने
स्वाट्ट घुट्क्याएँ
बल्ल रातभरी चिसिएको हाड छालाको ज्यान न्यानो पारे ।
यत्ति सिरक ओढेपछि मेरो दैनिकीतिर बाटो लागें १
ज्यामी किसान हुँ पाखुरी नबजाई हातमुख जोडिदैन
एक गिलास स्वाट्ट नपारि यो ज़ीऊ तात्तैन १
कम्बल दिए, दाउरा दिए, न्यानो नाना दिए भनी खुब प्रचार गर्छन्
गरिब दुखी पीडितको नाम बेची तिनले आफ्नै घ्याम्पे पेट भर्छन
गरिब दुखी असहाय जति शीत लहरको थप्पडले कठाँग्रिएर मर्छन
एका बिहानै जिउ तताउन बिषालु ठर्रा सेवन गरी
ज्यानको सत्यानास पार्छन् ।
पार्यो पार्यो शीत लहरले गरिब दुखियालाई ठहरै पार्यो
मार्यो मार्यो मधेसका सर्बहाराबर्गलाई शीत लहरले मार्यो ।
लौ भएन अत्याचार सहन
लौ भएन शीत लहरले मर्न
छोडौ ठर्रा पिएर जाडो भगाउन
सबै मिलि जाउँ मौलिक हक माग्न
सबै उत्रनु पर्छ स्थानिय सरकार घेर्न।
ए हे
लौ है
– माघ ३ गते २०७९ साल
विराटनगर