ती चेलीहरु मातृभूमि फर्किए होला?
अन्तर्राष्ट्रिय श्रम संगठनको ९९ औं सम्मेलनमा सहभागी हुनको लागि बल्ल भिसा प्राप्त भयो । निकै दोडधुपले हैरान भएपनि सवै साथीहरुको सद्भाव बेजोडको थियो । ड्यूटी अनि तयारीमा हामी जोडदारले जुटयौं ।
डयूटी अनि तयारीको क्रममा भएको दौडधुपले लखतरान परियो । अलिअलि खुशी अनि अलिकति घबराहट पनि ।
हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट ११.२० को कतार एयरवाट निकै उत्साहकासाथ पौने दुई बजे राती कतारको राजधानी दोहा एयरपोर्टमा ल्याण्ड गरेका थियौं । जेनेभाको ट्रान्जिट प्वाइन्ट दोहा एयरपोर्ट नै थियो । रातको समयमा प्लेनबाट एयरपोर्टको शटल बसमा चढन झण्डै एक मिनट लाग्यो होला । दोहाको गर्मीको त्यो झोक्काले हामी चकित भयौं । राती पनि यति धेरै भत्भत् पोल्ने गर्मी ? हाम्रो देशमा त गर्मी याममा पनि मध्ये दिउंसोको घामले पनि यति धेरै पोल्दैन ।
एयरपोर्टको कडा चेकपछि हामी ट्रान्जिट बिल्डिङ्गभित्र प्रवेस ग¥यौं । हामी अलिकति अलमल र असहज अवस्थामा थियौं । भाषाको पनि अलि समश्या त्यसमा पनि अनुभव फिटिक्कै थिएन । जसो पर्ला कामचलाउ भाषा आइहाल्छ भन्ने लागेकेको थियो । खोज्दै सोद्धै जाँदा जेनेभाको काउन्टर फेला पारेपछि ढुक्कले बसियो । जे होस काउन्टर फेला पारियो । यहिँं बसौं भनि हामी दुवैजना साथी सानदारको सोफामा आराम गर्न थाल्यौं । त्यसैबेलामा पाटन क्याम्पसमा अध्ययनरत एकजना भाइसित परिचय भयो । खासगरी जगतजिले परिचयको पहल गर्नुभयो । उनिपनि जेनेभा नै जाने रहेछन्् । ति भाईले एउटा प्रतियोगिता जितेर जेनेभा जाने अफर पाएका रहेछन् । त्यो पनि जेनेभाको एक जना स्थानीय ब्यक्तिले स्पोन्सर गरेको रहेछ । ति भाई अलि चलाख खालको र कम्प्युटर कोर्षमा टयालेन्ट भएकोले नै यो मौका पाएको कुरा बताए ।
रातको झण्डै साँढे तीन हुंदै थियो जगत कामरेडले दाई केही खान पाए हुन्थ्यो, खाना कता पाइन्छ? यसो सोध्नुस न । एरपोर्टको ट्रान्जिट प्वाइन्टमा बस्ता लजिङ्ग र फुडिङ्गको सुविधा पाइन्छ रे भनेकोले म अनकनाई अनकनाई जे जस्तो जानेको अंग्रेजी भाषा हो त्यहि प्रयोग गरि काउन्टरहरुमा सोध्न थालें । यो काममा ती भाईले पनि सहयोग गरे किनकी उनि पनि केही खान पाए हुन्थ्यो भन्नेमा थिए । इन्क्वाइरीमा गएर सोधेपछि हामीलाई उ त्यो परको काउन्टरमा सोध्ने भनेर काउन्टर देखाइ दियो । त्यहाँ गएर सोधेपछि छोटो समयको ट्रान्जिटका पसिन्जरलाई खानाको व्यवस्था छैन । तर चिसो तातोमध्ये एक केही वा अरु चिज खान पाइन्छ । तर, ब्रेकफास्टकोरुपमा ऐले हैन भनि कुपनमा चिनो लगाउँदै भनिन् ओन्ली ब्रेकफास्ट भनेर मेनुमा रेजा लगाइन जि.आर.इ.ले ।
तीनवटा कुपन लिएर म र त्यो भाई फर्कदै थियौं । एकजना मोटो गोरो सुन्दर अनुहार भएको हेर्दै खाइलाग्दो सुटेट बुटेट अन्दाजी चालीस वर्षका युवाले आर यू नेपाली? आर यू फ्रम नेपाल ? अनि नेपालीमा तपाई नेपाली हो, तपाई नेपालबाट आएको हो ? तपाईले खाना खानु भयो ? छैन भने आउनुस यता आएर खानुहोस । खानाको लागि पैसा तिर्नुपदैन । यो तपाईहरुको सुविधा हो भन्दै नेपालीजस्ता देखिने हरेक व्यक्तिलाई सोद्धै खोज्दै उनि हामी तिरै आए । मैले जगतलाई भने हैन यहाँ पनि नेपालीलाई खोज्ने मान्छे ? हेर त सोद्धै खोज्दै यतै आउंँदैछ । हामी नजिकै आएर हामीलाई पनि त्यसरी नै सोधे हामीले हार्दिकतापूर्वक चिनजान ग¥यौं । उनको नाम नविन बस्याल थियो ।
नविनलाई मैले भने ब्रेकफास्ट त्यो पनि विहानमात्रै दिने रे हो त? भनि त्यहि कुपन देखाएं । हो, तर नेपाली दाजुभाईलाई समयको मतलव छैन, जे खानुपर्छ खानुहोस तपाईहरु त मेरो गेष्ट नै हुनुभयो नि भनि एयरपोर्टभित्र रहेको होटलमा लगेर खाना खुवाउनु भयो । त्यो भाई पनि खुशी भयो । संझनाको लागि हामीले केही फोटो पनि खिचायौं । तपाई जस्तो गजवको मान्छे पनि पाईँदोरहेछ भनि गफ गरियो अरु नेपाली र भारतीय कुक, वयटर र क्यासियर सहितलाई चिनाजानी गराएपछि ती सवै हाम्रो साथी जस्तै भए ।
आराम गर्ने ठाउँ पनि देखाइदिए । भलाकुसारी गर्दै जांदा त उनि त हाम्रो पार्टीको पर्बत जिल्लाको सभासदका भतिज पो रहेछन । उनी त्यो होटलको डयुटि म्यानेजर रहेछन । झनै आत्मियता बढयो हामीवीच । नेपालको बारेमा निकै रमाईला र घतलाग्दा गफहरु ग¥यौं । हाम्रो कुराकानी सुनेपछि विद्यार्थी भाई पनि खुशी हुँदै भन्न थाले म निकै असल दाईहरुसित परेछु । यो भेटघाट अविस्मरणीय हुनेछ भन्दै खुशीको हाँसो हाँंसे ।
नविन बस्यालजी विदेशको बसाई र रोजगारीमा पटक्कै खुशी थिएनन् । नेपालमा गएर ग्रामीण क्षेत्रमा व्यवसाय गरेर परिवारसित बस्ने उनको धोको सुनाए हामीलाई । तर हामीले तत्कालै जागिर नछोडन सुझाव दिएका थियौं । किनकी योजना सफल हुने अवस्था अझै कम देखेर ।
तर किन हो किन मलाई कतार मन परेन रमझम झिलिमिmली त थियो नै राती जहाजबाट कतारको दृश्य हेर्दा बत्तीको झिलिमिली खपिसक्नुको थिएन । सिंगो शहर नै सुनौलो विद्युतको प्रकाशले सुन जस्तै भएको थियो । आकाशवाट हेर्दा पौराणिक ग्रन्थमा बयान गरेको स्वर्गको कल्पना गरेको दृश्य झलझली संझिएँ । हामी लोडशेडिङ्गको मार खेपिरहेकोलाई २४ सै घण्टा बत्ती देख्ता र बिजुलीको छेलोखेलो उपयोग गरेको देख्ता पनि आश्चर्य लाग्नेरहेछ । मैले एयरपोर्टबाट र विहानको जहाजवाट जे जति दृश्य देखें फुङ्ग उडेको उजाड र टण्टलापुर गर्मीभन्दा बाहेक केही देखिन र महशुस गरिन । हो, दोहाको एयरपोर्ट देख्ता कतार एयरलाइन्सको अनगगिन्ति जेट प्लेन, एयर बसहरु देख्ता मेरो देशमा यस्तो संभव होला र? भनि प्रश्न उब्जिइरहयो मनमा ।
हामी कतारको समय अनुसार बिहानको आठ बजे दोहा एयरपोर्टबाट जेनेभाको लागि पुनः कतार एयरबाट उडयौं । त्यो एयर बस नेपालमा आउँने एअर बसभन्दा निकै स्तरीय थियो । अनि एअर होस्टेसको सर्भिस पनि निकै स्तरीय थियो । उनिहरुको आनिबानी नै एकदम फरक थियो । प्यासेन्जरलाई गर्ने रेसपोन्स नै रिक्वेष्टबाट हुन्थ्यो, निकै फरक थियो । यूरोप अर्थात जेनेभा जानेहरुको लागि प्लेनबाटै सम्मानजनक ब्यवहार !
नेपालवाट कतार जाने भन्ने बित्तिक्कै होहल्ला मनपरि छाडा कुरा, खानाको स्तर नै कमसल, सर्भिस नै कमसल, हामीलाई हेर्ने दृष्टिकोण नै फरक, हकारपकार, एअर होस्टेसको दादागिरी अचम्म लाग्दो प्रकारको थियो । एकजना नेपाली यात्रुलाई त शौच गर्न नजानेको भनि जवरजस्ती ट्वाइलेट सफा गर्न लगाएको समेत देखियो । यसको मूलकारण अरु केही थिएन ती अधिकांस यात्रुहरु नेपालमा काम नपाएर खाडी मुलुकमा रोजगारीको लागि ऋणपान गरेर प्रवेश गरेका नेपालको पनि ग्रामीण भेगका गरीब मजदुरहरु थिए ।
हामीले प्रत्यक्षरुपमा के पनि देख्यौं भने खासगरी हामीलाई यस मामिलामा नविनजिले सहयोग गर्नुभयो । दोहाको ट्रान्जिटमा यतिधेरै नेपाली श्रमिकहरु थिए कि त्यसमा पनि भरखरका युवितीहरु जसको युवापन राम्ररी फक्रिन पनि सकेको छैन । त्यसता युवतिहरु जगत र मैले डफ्फाको डफ्फा भेटयौं । तर तिनिहरुसित कुरा गर्न हामीलाई उनिहरुको नाइकेले दिंदै दिएन । नेपालीसित कुरा नगर्नु भनेकोले होला उनिहरुले हामीसित कुरा खोल्न चाहेनन । उनिहरु खान जान्दैन थिए, बस्न जान्दैन थिए र आफुले लगाएको कपडामा आफै पटक पटक अल्झिन्थे, चिप्लिन्थे । चिप्लेपछि सबै जोडदारले गललल...हाँस्थे । अरु सबै प्यासेन्जरले उनीहरुतिरै हेर्थे र निशुल्कको मनोरन्जन गर्थे ।
तर पनि नविनजिलाई मैले सोध्न लगाएँ, तिनीहरु सिन्धुली जिल्लाको दुर्गम क्षेत्रबाट आएका थिए । अब तिनीहरु दोहा एअरपोर्टबाट विभिन्न खाडीका देशमा घरेलु मजदुरकारुपमा जाने तरखरमा थिए । नविनले भन्थे यी धेरैजसो फर्किदैनन, वेपत्ताभित्र पर्दछन र मुसल्टेका कोपभाजनमा पर्ने कम्फर्ट गर्ल बन्छन । वेश्यालयमा लैजान्छन । महिनाको पाँच, छ हजारमा काममा लगाउछन । त्यहांबाट यिनीहरु मुक्त हुने संभावना खासै छैन जय जी भन्नु भयो ।
हाम्रो नेपाली चेलीको त्यो तस्करी देखेर, त्यो हालत देखेर नविन निकै दिक्दार थिए । हामी त झनै चकित भयौं । काम गर्न आएका महिलाहरुको अमानवीय शोषणको त्यो अत्याँसिलो, कहालीलाग्दो कुरा सुनेर । मैले ति अब फेरी कहिल्यै भेट नहुने महिला किशोरीहरुको फोटो जगतजिलाई खिच्न लगाएँ । हाम्रो महासंघको प्रकाशनद्धारा प्रकाशन हुने मजदुर बुलेटिनको लागि भनेर । तर, पछि त्यो फोटो छाप्न र बयान गर्न मलाई मन लागेन । मानव तस्करको पर्दाफासकोभन्दा पनि अबोध किशोरीहरुको फोटो सार्बजनिक गर्न लज्जा बोध भयो मलाई । मेरो देशले आफ्नै जन्मभूमीमा शिपविहीन र अनुभवहीन भनि अवसर नपाएका खोटा सिक्का ठहरिएका युवायुवतिको तस्करी गर्न कहिलेसम्म रोक्ला ?
के त्यस्ता मानव तस्करलाई खोरमा हाल्ने हिम्मत गर्ला ? खाडी मुलुकमा कहिलेसम्म अपरिचित र बेवारिसे चिहानहरु खनिरहने ?